काठमाडौं, माघ १- अहिले चलिरहेको ‘लुट’ फिल्म हेरेर धेरै दर्शकले मज्जा लुटिसके पनि यसका मुख्य पात्र हाकु काले अर्थात् सौगात मल्ल भने यो मज्जादेखि विमुख छन्। शुक्रबार रिलिज भएको फिल्म उनले अझै हेर्न पाएका छैनन्।
‘डबिङ हुनुभन्दा अघि रफ हेरेको थिएँ, तर त्यतिबेला अरू काम पनि बाँकी थियो फिल्ममा,’ सौगातले भने, ‘फिल्म रिलिज भएयता चाहिँ म गुरुकुलका नाटकमा व्यस्त भएँ।’
कलाकारहरुको व्यस्तताले गर्दा फिल्मको प्रिमियर शो गर्न नपाएको निर्माता माधव वाग्लेले बताए।
अरू दुई कलाकार कर्म र ऋचा शर्मा ‘भिसा गर्ल’ फिल्मको सुटिङमा छन् भने दयाहाङ राई लुम्बिनी भ्रमण वर्ष घोषणा कार्यक्रममा भाग लिन बुटवल गएका थिए।
‘कलाकारमात्र होइन, पत्रकार, साथीभाइ र फिल्म क्षेत्रका मान्छेहरुलाई पनि देखाउन पाएको छैन,’ निर्माताले वाग्लेले थकथक माने। निश्चल बस्नेतद्वारा निर्देशित फिल्मले दुई दिन राम्रो कमाइ गरेको रिपोर्ट छ।
